बर्दिया । सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाइने भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गर्ने प्रस्ताव गरिएका सडक तथा पुल योजनाको पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जले स्थलगत निरीक्षण गरेको छ।
बाँसगढी र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानमा पुल तथा सडक निर्माणका लागि प्राविधिक टोलीले निरीक्षण गरेको हो। निरीक्षण गरिएका योजनामा घट्टेखोला, अछारिया खोला, ग्याङ नदी, झर्नाहिया खोला र जुरपानिया खोलामा पुल निर्माण तथा माछागढदेखि थुम्नी गाउँसम्म सडक निर्माण रहेका छन्।
डिभिजन प्रमुख लोकेन्द्रबहादुर खड्काका अनुसार यस वर्ष बर्दियाका सडक तथा पुल योजनाका लागि २८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। ग्याङ नदी पुलको डीपीआर तयार भइसकेको र ठेक्का प्रक्रिया छिट्टै अघि बढाइने उनले बताए।
प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुको पहलमा भएको निरीक्षणमा स्थानीयले पुल अभावमा बिरामीलाई बोकेर खोला तार्नुपर्ने र खेतीपातीका लागि लामो दूरी घुम्नुपर्ने समस्या सुनाएका थिए।