काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को ठेक्का तत्काल रद्द गर्ने बताएका छन् ।
बुधबार महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उनले प्याकेज नम्बर ९ए, ९बी र ८बी लगायतका केही प्याकेजमा निर्माण कम्पनीको कार्यसम्पादन कमजोर रहेको बताए ।
पटकपटक चेतावनी र ताकेता गर्दा पनि प्रतिबद्धताअनुसार काम नभएकाले अब थप समय र सुविधा दिएर आयोजना लम्ब्याउन नसकिने उनको भनाइ छ ।
मन्त्री लम्सालले रद्द गरिएका ठेक्काको बाँकी कामका लागि पुनः टेन्डर आह्वान गरिने बताए । फास्ट ट्र्याकलाई निर्धारित समयमै सम्पन्न गर्न कमजोर कार्यसम्पादन भएका कम्पनीमाथि कडाइ गरिने उनले स्पष्ट पारे ।