काठमाडौं । दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।
बुधबार महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् ।
उनले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा कोरियाले हासिल गरेको अनुभव र प्रविधि नेपालसँग साझा गर्न चाहेको बताए ।
राजदूत पार्कका अनुसार फास्ट ट्र्याकको समग्र डिजाइन तथा सुपरिवेक्षण कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । उनले आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै पूर्वाधार विकासमा नेपालसँगको सहकार्य निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।