बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते ठेक्का सम्झौता भएको छ ।
६७ करोड ४५ लाख ६९ हजार रुपैयाँ लागतमा निर्माण हुने पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । दुई लेनको पुल निर्माण ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सडक डिभिजनका अनुसार निर्माण कम्पनीले नौ महिनाभित्र माटो परीक्षण र डिजाइन स्वीकृत गराउनुपर्नेछ । पुल नहुँदा स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
पप्पु कन्स्ट्रक्सनले बनाएको पुरानो पुल २०७२ को बाढीले भासिएको थियो । २०७९ को बाढीले तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको थियो । नयाँ पुल बनेपछि गुलरिया र आसपासका बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।