जनकपुरधाम । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुलमा एक्सपान्सन ज्वाइन्ट, रेलिंग लगाउने तथा दुवैतर्फ माटो भरेर सडक बनाउने काम भइरहेको छ ।
हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले मंसिर पहिलो सातादेखि पुल सञ्चालनमा आउने बताए । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको विशेष चासोपछि निर्माणले गति लिएको हो ।
डेढ दशकदेखि पुल अलपत्र हुँदा हुलाकी राजमार्ग भएर यात्रा गर्ने हजारौँ नागरिकले सास्ती भोग्दै आएका छन् ।
२०६८ सालमा पप्पु कन्स्ट्रक्सनले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको पुल अलपत्र परेपछि २०७८ असारमा लुम्बिनी बिल्डर्सलाई निर्माणको जिम्मा दिइएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनको तयारी भइरहेका बेला २०७८ असार १७ गते बाढीले पुल भासिएको थियो ।
चालु आर्थिक वर्षमा पुल निर्माण र कमला नदी नियन्त्रणका लागि मन्त्रालयले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । तर, पुलको डिजाइन र निर्माण गुणस्तरबारे भने अझै प्रश्न उठ्दै आएको छ ।