हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–स्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाका आफन्तले शव उठाउन अस्वीकार गरेका छन् ।
मृतकका परिवारले प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार प्रशासनले कानुनले तोकेबमोजिमको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने जनाएको छ । तर, मृतकका आफन्तले थप क्षतिपूर्तिको माग राख्दै शव बुझ्न मानेका छैनन् ।
बिहीबार बिहान मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेको हेटौंडा, भरतपुर र काठमाडौंका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । आफन्तले पोस्टमार्टमसमेत गर्न नदिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनबमोजिमको क्षतिपूर्ति नलिए शवको पोस्टमार्टम गरी कानुनअनुसार व्यवस्थापन गरिने बताएका छन् ।