मनाङ । अविरल वर्षापछि घट्टेखोलामा आएको पहिरोले थुनिएको मस्र्याङ्दी नदी सोमबार बिहानदेखि ओभरफ्लो भएर बग्न थालेको छ।
नासोँ गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदी थुनिएर बनेको तालबाट पानी आंशिक रूपमा बग्न थालेको हो। नदी थुनिँदा मनाङ सदरमुकाम चामे बजार डुबानमा परेको थियो। जोखिमका कारण स्थानीयवासी नेपाली सेनाको ब्यारेकलगायत सुरक्षित स्थानमा बसेका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले नदीको बहाव क्रमशः खुल्दै गएको जानकारी दिए। पानीको बहाव सहज बनाउन स्काभेटर प्रयोग गर्नेबारे छलफल भइरहेको उनले बताए।
बाढीले लमजुङ–मनाङ सीमा क्षेत्रमा रहेको ताल बजारमा समेत क्षति पुर्याएको छ। ठाडो खोला र घट्टेखोलाको बाढीले घर, पुल तथा सडकमा क्षति पुर्याएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।