काठमाडौं। सरकारले सार्वजनिक खरिद तथा निर्माण कार्यमा स्वदेशी उत्पादन, स्थानीय सामग्री र स्वदेशी प्रविधिको प्रयोग अनिवार्य गरेको छ। यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका सबै सार्वजनिक निकायलाई कडा निर्देशन दिएको छ।
मन्त्रिपरिषद्बाट असोज ३० गते स्वीकृत ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३’ कार्यान्वयन गर्न कार्यालयले ताकेता गरेको हो।
कार्यालयको कात्तिक ११ गतेको निर्णयअनुसार अब सार्वजनिक निकायले मालसामान, निर्माण कार्य तथा सेवा खरिद गर्दा निर्देशिकामा तोकिएका स्वदेशी उत्पादन, स्थानीय सामग्री र स्वदेशी प्रविधिको प्रयोग गर्नुपर्नेछ।
निर्देशिका कार्यान्वयन भए नभएको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमित अनुगमन गर्नेछ। निर्देशन पालना नगर्ने सार्वजनिक निकायमाथि प्रचलित कानुनअनुसार अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
निर्देशिका कार्यान्वयनमा आएपछि सरकारी बजेटबाट हुने खरिद तथा विकास निर्माणमा स्वदेशी उत्पादनको खपत बढ्नुका साथै स्थानीय उद्योग, व्यवसाय र आन्तरिक अर्थतन्त्रलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।