बागलुङ । बाढीपहिरोबाट प्रभावित बागलुङका छ स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
गत असोज ११ गतेको बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले पश्चिम बागलुङका छ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्ण रूपमा सङ्कटग्रस्त घोषित चार स्थानीय तहलाई ४० लाखका दरले तथा आंशिक रूपमा घोषित निसीखोला र तमानखोलालाई २० लाखका दरले रकम उपलब्ध गराइएको छ।
उक्त रकम अवरुद्ध सडक खुलाउन, खानेपानी मर्मत गर्न, विद्यालय सञ्चालन गर्न तथा प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गर्न खर्च गरिनेछ। निजी आवास, विद्यालय भवन र सडक पुनर्निर्माणका लागि थप बजेट आउने जनाइएको छ।
गत असोजको बाढीपहिरोमा बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए।