काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको एउटा खण्ड बगाएको छ। पुल क्षतिग्रस्त भएपछि धादिङका मुख्य नाकामा सवारी आवागमन प्रभावित भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार आरुघाट गाउँपालिका–९ नयाँ पुलस्थित तीन खण्डको पुलमध्ये गोरखातर्फको एउटा खण्ड बाढीले बगाएको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पुलमा क्षति पुगेपछि गोरखा हुँदै सल्यानटार जाने सडक सम्पर्क प्रभावित भएको छ।
बाढीले धादिङमा करिब ४० घर बगाएको प्रारम्भिक विवरण छ। मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।
जलसतह खतराको तहभन्दा माथि पुगेपछि आरुघाट बजारसमेत खाली गराइएको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।