काभ्रे । पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेलमा मैत्री पार्क निर्माण गर्ने भएका छन् ।
यसका लागि धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन दुई पालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरेका छन् ।
पार्कलाई पारिवारिक मनोरञ्जन र विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना छ । पार्क निर्माणका लागि करिब ७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ खर्च गरिने सम्झौतामा उल्लेख छ ।
कार्यवाहक प्रमुख जंगमले पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउनुका साथै स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र नागरिकबीचको मैत्रीपूर्ण सम्बन्धसमेत थप प्रगाढ बनाउने उनको भनाइ छ ।