चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्ने काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठ्यारो भूगोलका कारण काममा ढिलाइ भएको हो।
शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर जोखिमपूर्ण भाग हटाउने काम भइरहेको छ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी माथिबाट स्काभेटरले पहाड काट्ने र तलबाट खसेको माटो तथा ढुंगा हटाउने गरिएको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकभन्दा करिब १०० मिटर माथि मेसिन राखेर काम भइरहेको छ। मंगलबार माथिबाट ढिस्को खस्दा स्काभेटर पुरिएको थियो। पहिरो पन्छाएर पुनः काम सुरु गरिएको छ।
सडक बन्दका बेला चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा पनि १०० मिटर क्षेत्रमा सडक दुई मिटर चौडा पार्ने काम भइरहेको छ।