जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।
सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँदिल्लीबाट भर्चुअल रूपमा रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि दिउँसो १२ः३० बजे अयोध्याधामबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम पुगेको हो ।
करिब ६०४ किलोमिटर दूरी पार गर्दै भारतको उत्तर प्रदेश र बिहार हुँदै आएको रेलको जनकपुरधाममा सांस्कृतिक कार्यक्रम र परम्परागत झाँकीसहित स्वागत गरिएको थियो । रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए ।
१७ डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन् । सातामा एकपटक सञ्चालन हुने यो रेल सेवाले अयोध्या र जनकपुरधामबीचको धार्मिक पर्यटन तथा नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई थप जोड्ने अपेक्षा गरिएको छ ।