सार्वजनिक खरिदमा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ जारी गरेको छ। कार्यविधिले श्रमिकको पारिश्रमिक निर्धारण, सामाजिक सुरक्षा योगदान, भुक्तानी प्रक्रिया तथा श्रमिक अधिकार उल्लङ्घन गर्ने व्यवसायीमाथि कारबाहीको व्यवस्थासमेत गरेको छ।
तर कार्यविधिका केही प्रावधानले निर्माण व्यवसायीमाथि थप आर्थिक तथा कानुनी दायित्व सिर्जना गर्ने भन्दै निर्माण व्यवसायीहरू भने चिन्तित देखिन्छन्। उनीहरूले श्रमिकको अधिकार सुनिश्चित गर्ने नीतिको विरोध नभए पनि कार्यविधिका कतिपय व्यवस्था श्रम ऐन, सामाजिक सुरक्षा ऐन र सार्वजनिक खरिद ऐनसँग पूर्णतः समन्वय नभएको तर्क गरेका छन्।
विशेषगरी श्रम ऐन, २०७४ को दफा १०६ र १०७ ले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार र प्रक्रिया स्पष्ट गरेको अवस्थामा सो प्रक्रिया पूरा नगरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधिबाट छुट्टै पारिश्रमिक दर निर्धारण गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न केही निर्माण व्यवसायीहरुको छ । त्यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले रोजगारदाता र श्रमिकको योगदानसम्बन्धी दायित्व निर्धारण गरेको अवस्थामा कार्यविधि मार्फत सरकार र रोजगारदाताबीच योगदानको आर्थिक भार बाँडफाँट गर्दा मूल ऐनको अधिकार क्षेत्र उल्लङ्घन हुन्छ कि हुँदैन भन्ने परीक्षण गर्न समेत माग उठेको छ । सार्वजनिक खरिद ऐनको दफा ६३ ले कालोसूचीमा राख्ने आधार र प्रक्रिया तोकेको अवस्थामा कार्यविधिले थप सजाय वा नयाँ आधार सिर्जना गरेको भन्दै यी प्रावधानको वैधता कानुनी रूपमा परीक्षण हुनुपर्ने समेत देखिन्छ ।
निर्माण व्यवसायीहरूका अनुसार नयाँ पारिश्रमिक र सामाजिक सुरक्षा दायित्वलाई पुराना ठेक्कामा समेत लागू गर्न खोजिए निर्माण लागत बढ्नुका साथै आर्थिक रूपमा कमजोर अवस्थामा रहेका व्यवसायी थप समस्यामा पर्न सक्छन्। त्यसैले नयाँ दायित्वअनुसार लागत अनुमान, दररेट, निर्माण नम्स, बजेट र ठेक्का सम्झौतासमेत समायोजन गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, श्रमिक अधिकार उल्लङ्घनमा कारबाही हुनुपर्ने भए पनि सार्वजनिक खरिद ऐनले तोकेको प्रक्रिया र सफाइको अधिकारभन्दा बाहिर गएर कालोसूचीमा राख्ने व्यवस्था गर्न नहुने उनीहरूको तर्क छ।
यद्यपि कार्यविधिले नयाँ बोलपत्रमा नयाँ व्यवस्था लागू गर्ने र कार्यान्वयनमा रहेका पुराना ठेक्कालाई पुरानै सम्झौताअनुसार निरन्तरता दिन सक्ने व्यवस्था पनि गरेको छ। यस्तो अवस्थामा कार्यविधिको कार्यान्वयनमा देखिन सक्ने कानुनी अस्पष्टता र आर्थिक दायित्वबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।
श्रमिकको अधिकार र निर्माण आयोजना कार्यान्वयन दुवैलाई प्रभावकारी बनाउन श्रम, सामाजिक सुरक्षा र सार्वजनिक खरिदसम्बन्धी कानुनबीच समन्वय गर्दै आवश्यक नीतिगत तथा आर्थिक व्यवस्था मिलाउनुपर्ने देखिन्छ।