मधेश प्रदेशको रौतहटस्थित लालबकैया नदीमा ३०० मिटर लामो डबल लेनको नयाँ पुल निर्माण हुने भएको छ। हुलाकी राजमार्गअन्तर्गत फतुवा–मधेशपुर–अरुवा सडक खण्डमा पुल निर्माणका लागि करिब ५९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले शुक्रबार ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्।
सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको पुरानो जीर्ण सिंगल लेनको पुल विस्थापन गरी नयाँ पुल बनाउन लागिएको हो। पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा रहेको हुलाकी राजमार्गको उक्त सडक खण्डमा जोखिमपूर्ण पुलका कारण आवागमनमा समस्या हुँदै आएको थियो।
लामो समयदेखि अलपत्र रहेको आयोजनालाई आवश्यक स्रोत सहमति उपलब्ध गराएपछि निर्माण प्रक्रिया अघि बढेको मन्त्री लम्सालले बताएका छन्।
डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण हुने पुल तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ। नयाँ पुल बनेपछि मध्य तराईका जिल्लाबीच आवागमन सहज हुनुका साथै स्थानीय व्यापार तथा यातायातमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।