कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ। लामो समयदेखि चर्चामा रहेको आयोजनाको पूर्वाधार निर्माणका लागि मंसिर ४ गते राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत रङ्गशाला निर्माणको ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
पहिलो चरणको ठेक्काअन्तर्गत मैदान निर्माणका लागि हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायत काम गरिनेछ।
संघीय आयोजना कार्यान्वयन इकाइ, कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणालीमार्फत बोलपत्र आह्वान गरेको हो। ठेक्कामा सहभागी हुन निर्माण कम्पनीको औसत वार्षिक कारोबार कम्तीमा १३ करोड ८१ लाख रुपैयाँ हुनुपर्ने र समान प्रकृतिको कम्तीमा ११ करोड १० लाख रुपैयाँ बराबरको आरसीसी संरचना निर्माण गरेको अनुभव आवश्यक पर्ने व्यवस्था छ। बोलपत्र जमानत ५४ लाख रुपैयाँ तोकिएको छ।
धनगढी उपमहानगरपालिका–३ मा निर्माण प्रस्ताव गरिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भइसकेको छ। करिब दुई लाख ६० हजार वर्गमिटर क्षेत्रफलमा फैलिने आयोजनामा ५० हजार दर्शक क्षमताको रङ्गशालासहित खेलग्राम निर्माण गर्ने योजना छ।
लामो समयदेखि जग्गा प्राप्तिलगायतका समस्याका कारण अघि बढ्न नसकेको आयोजना अब ठेक्का प्रक्रियामा प्रवेश गरेको हो। रङ्गशाला निर्माणले सुदूरपश्चिममा क्रिकेट पूर्वाधार विकाससँगै खेल पर्यटन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।