गुल्मी अस्पतालको नवनिर्मित भवनबाट यसै महिनाभित्र सबै स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। भवनमा आइतबारदेखि सामान सार्न सुरु गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत प्रशासनिक, बहिरङ्ग (ओपीडी) र आकस्मिकलगायत सेवा चरणबद्ध रूपमा नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्।
गत साउन अन्तिम साता अस्पतालको निरीक्षणका क्रममा निर्माणमा ढिलाइ देखिएपछि मन्त्री लम्सालले ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि मन्त्रालयले निरन्तर अनुगमन गरेको थियो।
२०७८ असार १८ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भवन पाँच वर्ष बित्दासमेत पूरा हुन सकेको थिएन। स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ९४ लाख रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको थियो।
पाँचतले र ५० शय्याको क्षमतामा निर्माण गरिएको भवनमा आईसीयू, शल्यक्रिया, मेडिकल तथा बाल उपचार कक्षलगायत संरचना छन्। अस्पतालको नयाँ भवन सञ्चालनमा आएपछि साँघुरो पुरानो संरचनाका कारण प्रभावित हुँदै आएको सेवा विस्तारमा सहजता हुने अपेक्षा गरिएको छ।