खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि देउसी खेलेर २६ लाख ७७ हजार रुपैयाँ सङ्कलन गरिएको छ।
तिहारको अवसरमा कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न स्थानमा खेलिएको देउसीबाट उक्त रकम सङ्कलन भएको हो। दिक्तेलमा खेलिएको देउसीबाट ७ लाख ७ हजार, तराईका विभिन्न स्थानबाट १८ लाख र जालपामा खेलिएको देउसीबाट १ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको विद्यालयका शिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक दिलबहादुर राईका अनुसार कभर्ड हलको ट्रस्ट भवन निर्माण गर्न करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान छ। देउसीबाट सङ्कलित रकमसँगै संघ, प्रदेश र स्थानीय सरकारको सहयोग जुटाएर निर्माण अघि बढाउने विद्यालयको योजना छ। त्यसका लागि आगामी पुसदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ।