काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा २४ खर्ब ५३ अर्ब रुपैयाँ अनुमानित लागतका २३ ठूला पूर्वाधार आयोजना लगानीकर्तासमक्ष प्रस्तुत गरिने भएको छ। ऊर्जा, सडक तथा सुरुङमार्ग, विमानस्थल, उद्योग, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रका आयोजना सम्मेलनमा सोकेस गर्न लागिएको हो।
आयोजकका अनुसार सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य आयोजना प्रस्तुत गर्ने तयारी भए पनि हालसम्म २३ आयोजना पहिचान भएका छन्। तीमध्ये सबैभन्दा ठूलो आयोजना ४ खर्ब रुपैयाँ लागत अनुमान गरिएको बुढीगण्डकी बहुउद्देश्यीय आयोजना हो।
त्यस्तै, ३ खर्ब ८१ अर्बको दुधकोशी जलाशययुक्त आयोजना, २ खर्ब ६० अर्बको माझिटार–शक्तिखोर सुरुङमार्ग, २ खर्ब २१ अर्बको चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे र २ खर्ब ८ अर्बको अपर अरुण जलविद्युत आयोजना पनि लगानीकर्तासमक्ष प्रस्तुत गरिने सूचीमा छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार लगानीको वातावरण सहज बनाउन ५९ वटा ऐनमा सुधार गर्ने दस्तावेजसमेत तयार गरिएको छ। निजी क्षेत्रसँग छलफल गरी तयार पारिएको उक्त दस्तावेज सम्मेलनमा सार्वजनिक गर्ने तयारी छ।
यसपटक निजी क्षेत्रले गर्दै आएको सम्मेलनलाई थप नतिजामुखी बनाउन पूर्वाधार विकास मन्त्रालयले नेतृत्व लिएको मन्त्री लम्सालले बताएका छन्। कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराउँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास र क्षेत्रीय यातायातसहित १२ विषयगत क्षेत्रमा छलफल हुनेछ। सम्भावित लगानी सम्झौताको वातावरण तयार पार्ने लक्ष्यसहित सम्मेलन आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुँदैछ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् भने समापन पूर्वाधार विकासमन्त्री लम्सालले गर्ने कार्यक्रम छ। नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।
सोकेस हुने आयोजनाको सूची
१ बुढीगण्डकी बहुउद्देश्यीय आयोजना जलविद्युत / ऊर्जा रु. ४ खर्ब
२ दुधकोशी जलाशययुक्त आयोजना जलविद्युत रु. ३ खर्ब ८१ अर्ब
३ माझिटार–शक्तिखोर सुरुङमार्ग सुरुङमार्ग / यातायात रु. २ खर्ब ६० अर्ब
४ चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे सडक पूर्वाधार रु. २ खर्ब २१ अर्ब
५ अपर अरुण जलविद्युत आयोजना जलविद्युत रु. २ खर्ब ८ अर्ब
६ तमोर जलाशययुक्त जलविद्युत आयोजना जलविद्युत रु. २ खर्ब
७ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन रु. १ खर्ब ६२ अर्ब
८ बुटवल–पोखरा एक्सप्रेस वे सडक पूर्वाधार रु. ८० अर्ब
९ कोहलपुर–सुर्खेत एक्सप्रेस वे सडक पूर्वाधार रु. ६७ अर्ब
१० महेशफाँट स्याटलाइट आईटी सिटी सहरी पूर्वाधार तथा आईटी रु. ५५ अर्ब
११ धौवादी फलाम खानी आयोजना खानी तथा उद्योग रु. ५१ अर्ब
१२ ग्लोबल कन्भेन्सन एण्ड डिजिटल हब पूर्वाधार तथा प्रविधि रु. ५० अर्ब
१३ छहरे स्याटेलाइट लजिस्टिक सिटी लजिस्टिक पूर्वाधार रु. ५० अर्ब
१४ एआई डेटा सेन्टर प्रोजेक्ट (मनाङ) सूचना प्रविधि रु. ५० अर्ब
१५ मानेदोभान इको टाउन सहरी पूर्वाधार रु. ४५ अर्ब
१६ शक्तिखोर औद्योगिक पार्क औद्योगिक पूर्वाधार रु. ४० अर्ब
१७ मुस्ताङ एकीकृत स्याउ खेती र प्रशोधन कृषि उद्योग रु. ३० अर्ब
१८ खप्तड एकीकृत इको टुरिजम पर्यटन पूर्वाधार रु. २७ अर्ब
१९ कर्णाली एचभीएसी प्रसारण लाइन ऊर्जा प्रसारण रु. २५ अर्ब
२० भेरी एचभीएसी प्रसारण लाइन ऊर्जा प्रसारण रु. २५ अर्ब
२१ नौबस्ता औद्योगिक पार्क औद्योगिक पूर्वाधार रु. १० अर्ब
२२ दाउन्ने सुरुङमार्ग सुरुङमार्ग / सडक रु. १० अर्ब
२३ धरान–लेउती सुरुङमार्ग सुरुङमार्ग / सडक रु. ६ अर्ब
कुल २३ आयोजना रु. २४ खर्ब ५३ अर्ब