काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विस्तृत विवरण सरकारले तिहारअघि सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २४ वटा क्षेत्र छुट्याएर क्षतिको मूल्याङ्कन पूरा गरेका छन्।
क्षतिको विवरण सङ्कलनका लागि २५० भन्दा बढी कर्मचारी एक महिनाभन्दा लामो समय प्रभावित क्षेत्रमा खटिएका थिए। उनीहरूले रसुवा, नुवाकोट, धादिङ र गोरखाका प्रभावित वडामा पुगेर तथ्याङ्क सङ्कलन गरेका हुन्।
आयोगका सदस्य अर्जुनजङ्ग थापाका अनुसार बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ। सडक, पुल, भवन, खानेपानी, जलविद्युत्, कृषि र विद्यालयलगायत क्षेत्रको क्षति समेटेर प्रतिवेदन तयार भइरहेको छ।
बाढीबाट निजी क्षेत्रका करिब आठ जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनालाई ऋण पुनर्संरचना, नयाँ ऋणमा सहजीकरण, ब्याजमा सहयोग र सञ्चालन अनुमति अवधि बढाएर राहत दिन सकिने विकल्प आयोगले अघि सारेको छ।