मुस्ताङमा प्रतिकूल मौसमको सम्भावना रहेकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले आग्रह गरेका छन्।
गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेको प्रशासनले जनाएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार मौसमका कारण चिसो बढ्नुका साथै पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जोखिम छ।
यस्तै, हिमपातका कारण सडक चिप्लो हुने र सवारी दुर्घटना तथा सडक अवरुद्ध हुन सक्ने भन्दै लोमन्थाङ गाउँपालिकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान आग्रह गरेको छ। मौसम अनुकूल नभएसम्म उक्त क्षेत्रको यात्रा र सवारी आवागमन स्थगित गर्न गाउँपालिकाले अनुरोध गरेको छ।