रुपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरूलाई सार्वजनिक शान्तिमा खलल् पुर्याएको आरोपमा गएराति पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए।
अभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई मध्यराति घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो।
आनी छोइङ डोल्मा कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ। अभियानले संयोजकमाथि गरिएको धरपकडको विरोध गर्दै दुवै जनालाई निःशर्त रिहा गर्न माग गरेको छ।