काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम असोज २९ गतेको निर्णयअनुसार असोज ३० गते सूचना प्रकाशित गरी ती कम्पनीलाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्नेमा बमबहादुर तामाङ मुख्य व्यक्ति रहेको कार्यमिलन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, विकास एण्ड ब्रदर्स–सिम्लेश्वर जेभी, अरुणकुमार साह मुख्य व्यक्ति रहेको विकास एण्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र विश्वनाथ अधिकारी मुख्य व्यक्ति रहेको सिम्लेश्वर बिल्डर्स प्रालि छन्।
सामाजिक विकास कार्यालय, गजुरी, धादिङ र सखुवानन्कारकट्टी गाउँपालिका, सिरहाको सिफारिसमा कार्यालयले उक्त निर्णय गरेको जनाएको छ।
कालोसूचीमा परेको अवधिभर यी कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।