काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नुवाकोटस्थित त्रिशूली नदीमाथि २६८ मिटर लामो झोलुङ्गे पुल एक महिनामै निर्माण सम्पन्न गरेको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार र ढुङ्गे बजार जोड्ने पुल बगाएपछि महासंघले आफ्नै कोषबाट पुनर्निर्माण गरेको हो । पुल निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
महासंघको आर्थिक सहयोग तथा निर्माण व्यवसायी संघ, नुवाकोटको सक्रियतामा पुल निर्माण सम्पन्न भएको हो । पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित स्थानीयको आवतजावत सहज हुने र जनजीवन सामान्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्माणमा महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष रामजी पन्त र नुवाकोटका अध्यक्ष शैलेन्द्र प्याकुरेललगायतको भूमिका रहेको जनाइएको छ । पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पूर्वाधार विकास कार्यालय नुवाकोट र विदुर नगरपालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गरेका थिए ।
यस कार्यलाई केवल एउटा भौतिक पूर्वाधार निर्माणका रूपमा मात्र नभई विपद्को समयमा निर्माण व्यवसायीहरूले प्रस्तुत गरेको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ।