म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिरमा बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक छिचोलिएको छ। असोज ११ गते कालीगण्डकीमा आएको बाढीले करिब २५० मिटर सडक कटान गरेपछि सडक अवरुद्ध भएको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाले चार दिनको प्रयासमा माटो फिलिङ र लेभल मिलाएर सडक जोडेको हो। सवारी सञ्चालन योग्य बनाउन थप एक–दुई दिन लाग्ने आयोजनाले जनाएको छ। बुधबार सडक मर्मतमा दुईतर्फबाट ६ एक्साभेटर र ६ टिपर परिचालन गरिएको थियो।
असोज दोस्रो साताको बाढीपहिरोले २०२ किलोमिटर सडकको ५५ स्थानमा क्षति पुर्याएको थियो। अधिकांश स्थानमा प्रारम्भिक मर्मत सकिए पनि पोखरेबगर पुल र कुनौटा क्षेत्रमा काम जारी छ। सडक पुनर्निर्माणमा करिब तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।