पश्चिम सुर्खेतको लगामदेखि धामिसेनसम्मको १६ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि करिब डेढ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–गुटु–लगाम–कर्णाली सडक खण्डको स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
उनका अनुसार बड्डीचौरदेखि लगामसम्मको सडक खण्डको ठेक्का प्रक्रिया सम्पन्न भई निर्माणको चरणमा छ। लगामदेखि धामिसेनसम्मको थप १६ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरी ठेक्का प्रक्रिया अन्तिम चरणमा पुर्याइएको हो।
पश्चिम सुर्खेतको सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राखेर आयोजना अघि बढाइएको मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत बताएका छन्।
उक्त सडक स्तरोन्नति भएपछि पश्चिम सुर्खेतका बस्तीहरूलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय आवागमन र आर्थिक गतिविधि सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।