सडक डिभिजन काठमाडौंले पछिल्लो चार महिनामा २७ हजार वर्गमिटरभन्दा बढी सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ। काठमाडौं उपत्यकाका सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले डिभिजनले नियमित मर्मतसम्भारसँगै रोड एम्बुलेन्स र सडक सुझाव एपमार्फत सेवा दिँदै आएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत डिभिजनको कामको प्रशंसा गर्दै सडक मर्मतमा संलग्न श्रमिक तथा कर्मचारीप्रति सम्मान व्यक्त गरेका छन्।
डिभिजनले रातिको समयमा समेत सडक मर्मतको काम गर्दै आएको छ। रोड एम्बुलेन्स, नियमित मर्मतसम्भार र सडक सुझाव एपलाई सडक व्यवस्थापनका नयाँ अभ्यासका रूपमा अघि बढाइएको मन्त्री लम्सालले उल्लेख गरेका छन्।
सडकका खाल्डाखुल्डीले सवारी आवागमन र यात्रुको सुरक्षामा जोखिम बढाउँदै आएका बेला गरिएको मर्मतले उपत्यकाको सडक आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।