काठमाडौं । कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत ४१ किलोमिटर सडक स्तरोन्नति हुने भएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले करिडोर स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार खुलालु–सलिसल्ला सडकखण्डअन्तर्गत तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।
बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण लामो समयदेखि अघि बढ्न नसकेको उक्त सडकको निर्माण तथा स्तरोन्नति अब अघि बढ्ने मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले कर्णाली करिडोरलाई प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।