काठमाडौं । चार वर्षदेखि अलपत्र लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नतिको बाँकी कामले पुनः गति लिन थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएपछि निर्माण कम्पनीले तिहारअघि मात्रै बाँकी काम सुरु गरेको जानकारी दिएका छन् ।
२०७५ सालमा ठेक्का सम्झौता भएर सुरु भएको आयोजना पटक–पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको थिएन । २०८० सालमा ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय भए पनि निर्माण कम्पनी अदालत गएपछि आयोजना थप अलपत्र परेको थियो ।
२०८१ सालमा अदालतले पुरानै निर्माण कम्पनीबाट काम गराउन आदेश दिएपछि चार पटक म्याद थपिएको थियो । तर, त्यस अवधिमा पनि काम अघि बढ्न सकेन ।
मन्त्री लम्सालका अनुसार नयाँ सरकारले अन्तिम पटक काम सम्पन्न गर्ने अवसर दिँदा पनि प्रगति नभएपछि मन्त्रालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो । अहिले मन्त्रालयले दैनिक रूपमा आयोजनाको अनुगमन गरिरहेको र तोकिएको गतिमा काम नभए पुनः ठेक्का तोडेर बाँकी काम सम्पन्न गर्ने तयारी गरेको उनले बताएका छन् ।