भोजपुर । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि वेबसाइट सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकलाई पदमार्गसम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याएको हो ।
टुरिजम डट कोशी डट जिओभी डट एनपीमार्फत मुन्दुम पदमार्गसहित प्रदेशका अन्य पर्यटकीय क्षेत्रबारे जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।
वेबसाइटमा पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी राखिएको छ ।
भोजपुर, खोटाङलगायत क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र किरात संस्कृतिका कारण चर्चित छ ।
वेबसाइट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै पदमार्गको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न र स्थानीय पर्यटन व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।