काठमाडौं । इलामको मेची करिडोर (मदन भण्डारी राजमार्गसमेत) अन्तर्गत निर्माणाधीन सुखानी पक्की पुलको ठेक्का अन्त्य गरिएको छ ।
सडक डिभिजन इलामले सम्झौता भएको १४ वर्ष ४ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नगरेको भन्दै ठेक्का तोडेको हो । करिब ११ वर्षदेखि निर्माण व्यवसायीले काम पूर्ण रूपमा अलपत्र पारेर कार्यस्थल छाडेका थिए ।
कुल १ करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का पाएको स्काई–अजम्बर–शिवराम जेभी, काठमाडौंले लामो समयसम्म काम नगरेको डिभिजनले जनाएको छ ।
निर्माण व्यवसायीले सम्झौताअनुसारको दायित्व पूरा नगरेपछि ठेक्का अन्त्य गरिएको हो । साथै निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्नुका साथै सम्झौता तथा सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।
डिभिजनले अब निर्माण व्यवसायीको लापरबाहीका कारण कुनै पनि आयोजना अनिर्णयको बन्दी बन्न नदिने र सम्झौताअनुसार काम नगर्नेमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ ।
