म्याग्दी । गत असोजको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारदेखि खोप्रा जोड्ने पदमार्ग पुनः सञ्चालनमा आएको छ।
पाउद्वारका स्थानीयवासीले श्रमदान गरेर पाउद्वार–हिलडाँडा–लरेनी खण्डको मर्मत गरेपछि पदमार्ग सञ्चालनमा ल्याइएको हो। पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार पहिरो पन्छाउनुका साथै नयाँ मार्ग बनाएर आवागमन सहज बनाइएको हो।
पाउद्वारकी प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताइन्। करिब २०० घरपरिवार रहेको गाउँका बासिन्दाले एक महिनादेखि पदमार्गसँगै विद्युत् र खानेपानी योजना मर्मतमा समेत श्रमदान गरिरहेका छन्।
समुद्री सतहदेखि तीन हजार ५६० मिटर उचाइमा रहेको खोप्रा अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्य हो। पदमार्ग सञ्चालनमा आएपछि पर्यटकलाई आवतजावत सहज हुनुका साथै स्थानीयलाई घाँसदाउरा र पशुगोठसम्म पुग्न पनि सहज भएको छ। खोप्रा–खयर पदमार्गमा असोज–कात्तिक र चैत–वैशाख मुख्य पर्यटकीय याम मानिन्छ।