काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काभ्रे, खोटाङ र ललितपुरका चार सडकखण्ड अवरुद्ध भएका छन्। खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा यातायात प्रभावित भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ खहरेखोलाबाट आएको लेदो र ढुङ्गामाटो सडकमा थुप्रिएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुरको सुन्दरीघाटस्थित बागमती खोला करिडोरमा जलसतह बढेपछि आवागमन रोकिएको छ। यस्तै, बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले आज बिहान ६ बजे जारी गरेको सूचनामा यी सडकखण्ड अवरुद्ध रहेको उल्लेख छ।