जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ। उद्घाटनको मिति भने तय भइसकेको छैन।
रामायण सर्किटअन्तर्गत सञ्चालन हुने रेल सेवाको पूर्वतयारीका लागि केही दिनअघि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेका थिए। रेल यात्रु र सुरक्षाको जिम्मेवारी आ–आफ्नो देशका सुरक्षा निकायले लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
जनकपुरधाम र अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोडेपछि धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र स्थानीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।