म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य एक महिनादेखि ठप्प भएको छ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाका बाँध, सुरुङ, आवास भवन, मेसिनरी तथा निर्माण उपकरणमा क्षति पुर्याएपछि काम रोकिएको हो। बाढीबाट करिब १८ देखि २० करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाले जनाएको छ ।
बाढीले बाँध निर्माणस्थलको डाइभर्सन, सुरुङको अडिट, श्रमिक आवास तथा निर्माण सामग्रीमा क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी तिहारलगत्तै निर्माणकार्य पुनः सुरु गर्ने तयारी गरिएको छ।
१२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०८५ सालसम्म सम्पन्न गर्ने लक्ष्य छ।