काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। यो गत वर्षको असोजभन्दा ९६ करोड २० लाख र चालु आवको भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँ बढी हो।
प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत् निर्यात गरिएको छ। चालु आवको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ आम्दानी भएको छ।
यसैबीच, बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। नयाँ व्यवस्थाअनुसार सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात गर्न अनुमति दिइएको छ।
त्यस्तै, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट निर्यात अनुमति प्राप्त भएसँगै भारततर्फ विद्युत् निर्यातको स्वीकृत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।