चितवन । नारायणी नदीको कटानबाट बस्ती जोगाउन तटबन्धको बाँकी निर्माण कार्य बजेट सुनिश्चित गरेर अघि बढाइने भएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुरका नारायणी नदी तटीय क्षेत्रको अवलोकन गर्दै तटबन्ध निर्माण र कटान नियन्त्रणका कामलाई प्राथमिकता दिने बताएकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले नदी कटानको जोखिममा रहेका बस्तीको अवस्था बुझ्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले नारायणी तटबन्धको बाँकी काम संघीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनियरको निगरानीमा बजेट सुनिश्चित गरी अघि बढाइने बताइन्। कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम गर्नुपर्ने र अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाउनुपर्नेमा उनले जोड दिइन्।
अवलोकनका क्रममा स्थानीयवासीले बस्तीको सुरक्षा सुनिश्चित गर्न तटबन्ध निर्माणको बाँकी काम शीघ्र सम्पन्न गर्न माग गरेका थिए। मन्त्री गौतमले माडीका विभिन्न स्थानमा पुगेर पनि स्थानीयका समस्या र गुनासा सुनेकी छन्।