कास्की । पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका दुवै पुल आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।
पुरानो पुलको दायाँ र बायाँतर्फ निर्माण भइरहेका दुवै पुल १९० मिटर लम्बाइका छन्। निर्माणका लागि २०७९ भदौ २६ गते रसुवा कन्स्ट्रक्सनसँग एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सकिएको छ भने चारवटा टावर निर्माण अन्तिम चरणमा पुगेको छ। जग्गा प्राप्ति, मुआब्जा, निर्माण सामग्री र जनशक्ति व्यवस्थापनमा देखिएका समस्याले काममा ढिलाइ भएको थियो। अहिले अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।