काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको बेलिब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार पुल हस्तान्तरण गरेको हो।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि सेनाले फलाकु खोलामा पुल निर्माण अघि बढाएको थियो। पुलसम्म पहुँच पुर्याउन करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर मार्ग निर्माण गरिएको थियो।
सेनाले असोज २० गतेदेखि पुल जडान सुरु गरी असोज २४ गते सम्पन्न गरेको थियो।
४० टन भारवहन क्षमता भएको पुल २४० फिट लामो र १८ फिट चौडा छ। पुल सञ्चालनमा आएपछि नुवाकोट र रसुवाका नागरिकको आवागमन सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत सामग्री र अत्यावश्यक वस्तु ढुवानीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।