काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक प्रकरणमा प्रहरीले एकैपटक आठ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ‘क’ वर्गको निर्माण व्यवसायी आशिष निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली, कार्यकारी निर्देशक निर्माण गौली र निर्देशक चाहाकुमारी गौली छन्। उक्त कम्पनीले एमसीसीअन्तर्गत लप्सीफेदी–रातमाटे प्रसारण लाइन निर्माण गरिरहेको छ।
यस्तै, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल पनि पक्राउ परेका छन्। कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे यसअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए। उनका छोरा तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेकाहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी छ। प्रहरीले सरकारी ठेक्का प्रणालीमा छेडखानी गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।