काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । भ्रमणका क्रममा हुन सक्ने सम्झौता, उद्घाटन गरिने आयोजना, आर्थिक सहायता तथा ऊर्जा सहकार्यका विषयलाई भारतीय सञ्चारमाध्यमले प्रमुखताका साथ उठाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शाह आगामी नोभेम्बर २२ देखि २४ सम्म भारत भ्रमणमा जाने तयारीमा छन् । तर, प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भ्रमणको मिति औपचारिक रूपमा तय भइनसकेको बताएकी छन् । उनका अनुसार मंसिरको पहिलो साताको अन्तिमतिर भ्रमण हुन सक्ने सम्भावना छ ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै उनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर ४ र ५ मा काठमाडौं आएर प्रधानमन्त्रीसहित पाँच मन्त्रीसँग भेटवार्ता गरेपछि भ्रमणको तयारीले थप गति लिएको हो ।
द इन्डियन एक्सप्रेस, द टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, एनडीटीभी, इन्डिया टुडे र द इकोनोमिक टाइम्सलगायत सञ्चारमाध्यमले भ्रमणलाई आर्थिक, ऊर्जा तथा पूर्वाधार सहकार्यको अवसरका रूपमा प्रस्तुत गरेका छन् ।
२ अर्ब डलरको सहायता माग्दै नेपाल
भ्रमणको प्रमुख आर्थिक एजेन्डामध्ये बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग माग गरिएको करिब २ अर्ब अमेरिकी डलरको सहायता प्याकेज रहेको छ ।
द इकोनोमिक टाइम्सका अनुसार नेपालले उक्त प्याकेजमा १ अर्ब डलर पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण ऋण र १ अर्ब डलर अनुदान माग्ने तयारी गरेको छ । बाढीपछिको पुनर्निर्माण, सडक, पुल तथा अन्य भौतिक संरचनाको पुनःनिर्माणमा उक्त रकम परिचालन गर्ने नेपालको अपेक्षा छ ।
तीन ठूला जलविद्युत् आयोजना चर्चामा
ऊर्जा सहकार्य भ्रमणको अर्को महत्त्वपूर्ण एजेन्डा हो । भारतीय सञ्चारमाध्यमले भारतीय सरकारी स्वामित्वको कम्पनी एनएचपीसी संलग्न तीन ठूला जलविद्युत् आयोजना अघि बढाउने विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।
७५० मेगावाटको पश्चिम सेती, ४८० मेगावाटको फुकोट कर्णाली र ४५० मेगावाटको सेती नदी–६ आयोजना छलफलमा पर्न सक्ने जनाइएको छ । यी तीन आयोजनाको कुल क्षमता १ हजार ६८० मेगावाट हुन्छ ।
यद्यपि, प्रधानमन्त्री कार्यालयले भ्रमणका क्रममा छलफल हुने परियोजनाको अन्तिम सूची तय भइनसकेको जनाएको छ । यी आयोजनामा लगानी, विकास प्रक्रिया र कार्यान्वयनको समयसीमाबारे छलफल हुन सक्ने भए पनि भ्रमणकै क्रममा निर्माण सम्झौता हुने निश्चित छैन ।
त्यस्तै, ९०० मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण कार्य संयुक्त रूपमा शुभारम्भ गर्ने सम्भावित कार्यसूचीमा रहेको छ । भारतले नेपालको जलविद्युत्मा लगानी विस्तार गर्नुका साथै उत्पादित विद्युत् खरिद र प्रसारण पूर्वाधारमा सहकार्य गर्न चाहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पेट्रोलियम पाइपलाइनदेखि एकीकृत जाँच चौकीसम्म
भ्रमणका क्रममा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र तल्लो अरुण आयोजनाको संयुक्त शुभारम्भ गर्ने सम्भावना छ । त्यस्तै, भैरहवाको एकीकृत जाँच चौकी, दार्चुलामा बनेको पुल, महाकाली नदीको मोटरेबल पुल र काभ्रेको पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान उद्घाटन गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अयोध्या–जनकपुर रेलसेवा सञ्चालनको विषयले पनि भ्रमणमा प्राथमिकता पाउन सक्नेछ । विदेश सचिव मिस्रीले काठमाडौं भ्रमणका क्रममा रेलसेवाको तयारी पूरा भएको र परीक्षणसमेत गरिएको जानकारी दिएका थिए ।
हवाई प्रवेशमार्ग र पञ्चेश्वरमा नेपालको चासो
नेपालले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन सहज बनाउन थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । सन् २०१४ देखि उठाउँदै आएको यो विषयमा भ्रमणका क्रममा छलफल हुने अपेक्षा छ ।
त्यस्तै, लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली सन्धिअन्तर्गत लागत तथा लाभ बाँडफाँटको विषय पनि छलफलमा पर्न सक्नेछ ।
व्यापार सन्धि परिमार्जन पनि एजेन्डामा
नेपाल–भारत व्यापार सन्धि अद्यावधिक गर्ने विषयसमेत भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ । वस्तु तथा सेवा व्यापार विस्तार, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, विदेशी लगानी संरक्षण, नाफा फिर्ता लैजाने प्रक्रिया सहज बनाउने र सीमापार व्यापार पूर्वाधार सुधार गर्ने विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने सम्भावना छ । गुजरातको अहमदाबाद भ्रमणको चर्चा भए पनि नेपाल पक्षले त्यसलाई पुष्टि गरिसकेको छैन ।