काठमाडौँ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सडक तथा पुल निर्माणका ठेक्का सरकारले तत्काल अन्त्य गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयअन्तर्गत रहेका रुग्ण ठेक्का तोडेर आवश्यक प्रक्रिया पूरा गरी नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउने निर्णय गरेको हो।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्बासले सोमबार मन्त्रालय मातहतका कार्यालयहरूको ठेक्का प्रगतिबारे छलफल गरी अलपत्र ठेक्का अन्त्य गर्नेसहितका निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
निर्णयअनुसार सडक विभागअन्तर्गतका रुग्ण ठेक्कामा निर्माण व्यवसायीले सम्झौता तथा प्रचलित कानुनअनुसार काम नगरेको पाइए तत्काल ठेक्का अन्त्यको प्रक्रिया अघि बढाइनेछ। त्यस्ता ठेक्काको नियमित अनुगमन गरी अद्यावधिक विवरणसमेत तयार गरिनेछ।
तोडिएका ठेक्काको काम पुनः खरिद गर्नुपर्ने भए लागत अनुमान तयार गरी बजेट सुनिश्चित भएपछि तत्काल बोलपत्र आह्वान गर्न सकिने गरी तयारी गरिने मन्त्रालयले जनाएको छ।
त्यस्तै, स्रोत सुनिश्चित भएका सालबसाली आयोजनाको बोलपत्र प्रक्रिया अघि बढाउने, निर्माण व्यवसायीले बोलपत्र नै पेस नगर्ने पुल निर्माणका ठेक्कामा प्रयोग हुने खरिद प्रक्रियासम्बन्धी नियम संशोधन गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रालयले कालोपत्रे सडकको विकल्पमा रिगिड पाभमेन्ट निर्माणलाई प्राथमिकता दिन डिजाइन परिमार्जन गर्ने तथा विपद्बाट क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माण प्रक्रिया शीघ्र सुरु गर्ने तयारीसमेत गरेको छ।