काठमाडौँ । करिब दुई महिनादेखि बन्द रहेको सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) पुनः सञ्चालनमा आएको छ । उच्च सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि बन्द गरिएको प्रणाली नयाँ सफ्टवेयरमार्फत सोमबारदेखि सञ्चालनमा ल्याइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले नयाँ प्रणाली तयार गरेपछि अनलाइन खरिद प्रक्रिया पुनः सुरु गरिएको हो । पहिलो चरणमा निर्माण सेवा र मालसामान खरिदका बोलपत्र आह्वान अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको कार्यालयका सचिव विश्वबाबु पुडासैनीले बताए ।
उनका अनुसार परामर्श सेवाको खरिद प्रक्रिया भने बाँकी छ । चालु आर्थिक वर्षभित्रै सबै प्रकारका खरिद प्रक्रिया नयाँ प्रणालीमा समेट्ने तयारी छ ।
ई–जीपी प्रणाली बन्द हुँदा सार्वजनिक खरिद तथा ठेक्का प्रक्रिया प्रभावित भएको थियो । अनलाइन प्रणाली बन्द भएपछि ठेक्का प्रक्रियामा गुण्डागर्दी बढेको भन्दै विभिन्न निकायले विरोधसमेत गरेका थिए ।
तस्बिरमा हेर्नुस् बोलपत्रदाता दर्ता गर्ने प्रक्रिया













