हेटौँडा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।
विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित छलफलमा मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग तथा लोड व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। उनले विद्युत् चुहावट नियन्त्रण र पूर्वाधारको नियमित मर्मतसम्भारलाई प्राथमिकतामा राख्न निर्देशन दिए।
मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकलाई समयमै सही सूचना दिन र समस्या तत्काल समाधान गर्न उनले निर्देशन दिए। विपद्का समयमा विद्युत् सेवा पुनः सञ्चालनमा कर्मचारीले गरेको कामको प्रशंसा गर्दै श्रेष्ठले सेवा सुधारका प्रयास सकारात्मक भए पनि अझै काम गर्न बाँकी रहेको बताए।
हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको भन्दै उनले आवश्यक पूर्वतयारी र बक्यौता असुलीमा कडाइ गर्न पनि आग्रह गरे।