नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको नवौं स्मृति दिवसको अवसरमा शुक्रवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा वक्ताहरुले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए ।
विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरुको भनाइ थियो । शोक सभालाई सम्बोधन गर्ने क्रममा महासंघका अध्यक्ष निकोलस पाण्डेले ‘एभरेज बिडिङ’ लागू गरी पूर्वाधार क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउने गौचनको सपनालाई वर्तमान कार्य समितिले साकार पारेको जानकारी गराए । सभाका प्रमुख अतिथि महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार जयराम लामिछानेले लो बिडलाई निरुत्साहित गर्नुपर्ने गौचनको धारणालाई महांसंघको वर्तमान कार्र्य समितिले मूर्त रुप दिएको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले गौचनले निर्माण क्षेत्रमा लगाएको गुनलाई कसैले बिर्सन नसक्ने बताए। महासंघका महासचिव शिवहरि घिमिरेले शहीद गौचनको संक्षिप्त जीवनी सहित निर्माण उद्योगको विकास विस्तारमा उनको योगदानको चर्चा गरे । महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले गौचन सबै निर्माण व्यवसायीहरुको सच्चा अभिभावक भएको बताए । सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष निकोलस पाण्डे, गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकारहरू, पूर्वअध्यक्षहरू तथा पदाधिकारीहरु, कार्य समिति सदस्यहरु लगायतले मार्ल्यापण गरेका थिए । गौचनको नवौं स्मृति दिवसको अवसरमा आज सातै प्रदेश निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरुमा पनि विविध कार्यक्रम गरिएको छ । गौचनको २०७४ साल असोज २३ गते शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उनको निवास नजिकै गोली हाली हत्या गरिएको थियो ।