काठमाडौँ । नेपाल र भारतले जलस्रोत तथा ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन प्राविधिक समिति गठन गर्ने प्रस्ताव अघि सारेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्माबीच बिहीबार भएको छलफलमा यस्तो प्रस्ताव अघि सारिएको हो।
छलफलमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासहित जलस्रोतका विभिन्न आयोजनाको प्राविधिक समीक्षा, तथ्याङ्क आदानप्रदान र पूर्वसूचना प्रणाली सुदृढ बनाउने विषयमा सहमति जुटेको मन्त्री श्रेष्ठले बताए।
भारतीय पक्षले जल संरक्षण तथा गङ्गा नदी पुनर्जीवन कार्यक्रमबारे जानकारी गराएको थियो। ती अनुभवबाट नेपालले लिन सक्ने सिकाइबारे पनि छलफल भएको छ।
मन्त्री श्रेष्ठले भोटेकोसी विपद्का बेला भारतबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै जलस्रोतको दिगो उपयोग र साझा समृद्धिका लागि सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।