काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र नदीमा बढेको अत्यधिक बहावका कारण देशभरका विद्युत् उत्पादन तथा प्रसारण संरचना प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।
प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा त्यसमा जोडिएका १३ वटा उत्पादन केन्द्रबाट करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। यस्तै म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप १४ वटा उत्पादन केन्द्रबाट करिब ६३० मेगावाट उत्पादन नदीमा आएको अत्यधिक बहावका कारण बन्द अवस्थामा छन्।
बाढीले रघुगंगा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ४० मेगावाटको राहुघाट जलविद्युत् केन्द्रको स्विचयार्डमा समेत क्षति पुर्याएको छ।
विद्युत् उत्पादन घटेपछि प्रणाली सन्तुलन कायम गर्न केही उद्योगको विद्युत् खपत घटाएर व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ। यस्तै, कुलेखानीस्थित इन्द्रसरोवरको पानीको सतह सुरक्षित राख्न जलविद्युत् केन्द्र २४ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिएको छ।