काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ९४ करोड रुपैयाँको विद्युत् बिक्री गरेको छ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बिक्री आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँले बढेको हो। गत वर्ष यस अवधिमा कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो।
तर, आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ। चालु आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष यस्तो नाफा १ अर्ब ६७ करोड रुपैयाँ थियो।
कम्पनीको वित्तीय खर्च १ अर्ब ४ करोडबाट बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ।