सुर्खेत । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएको छ।
१७ कात्तिक २०८० को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार सेतो दरबारका लागि २० करोड, रातो दरबारका लागि आठ करोड र जिल्ला अदालत भवनका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ।
छठ पर्वलगत्तै ठेक्का प्रक्रिया अघि बढाउने र २०८३ सालको वसन्त पञ्चमीदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ।
यसअघि पटकपटक बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा पुनर्निर्माण अघि बढ्न सकेको थिएन। खलङ्गामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्वपूर्ण ऐतिहासिक सम्पदा हुन्।