भक्तपुर। राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ मा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पले भक्तपुरका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुर्याए पनि नगरपालिकाले पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। उनका अनुसार हालसम्म मौलिक शैली कायम राख्दै १७८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ।
नगरप्रमुख प्रजापतिले राष्ट्रिय कला सङ्ग्रहालय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको उल्लेख गर्दै यसको संरक्षणमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताए। उनले सम्पदा संरक्षणको उद्देश्य नयाँ पुस्तालाई इतिहास, कला र संस्कृतिसँग परिचित गराउनुका साथै विदेशी पर्यटकलाई नेपालको मौलिक सम्पदाबारे जानकारी गराउनु रहेको स्पष्ट पारे।
उनले भक्तपुरलाई सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरका रूपमा संरक्षण गर्ने लक्ष्यअनुसार सबै संरचनाको पुनर्निर्माण मौलिक शैलीमै भइरहेको जानकारी दिँदै ५५ झ्याले दरबारको पुनर्निर्माणका क्रममा भित्तेचित्रलाई सुरक्षित राखेर पुनःस्थापना गरिएको बताए। साथै नगरभित्रका ९९ वटा ऐतिहासिक चोक संरक्षण तथा पुनर्जीवन अभियान पनि सुरु गरिएको जानकारी दिए।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुरको सम्पदा र वास्तुकलालाई मानव सभ्यताको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताए।